काठमाडौं । आज विश्व वातावरण दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देशमार्फत हामी सबैले आफ्नो घरवरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्ने जनाएका छन् ।
‘मानव जातिको महत्त्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौती बनेको छ,’ राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘यी चुनौतीबाट नेपाल पनि अछुतो छैन । हाम्रो हिमाली भेक, उच्च पहाड, चुरे र तराईका फाँटहरूसम्म जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको छ । यसले वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारेको छ ।’
विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लास्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको पनि सन्देशमा भनिएको छ ।
विकासलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको पनि सन्देशमा भनिएको छ । दिगो विकासको अवधारणाबमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको छ ।
वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रिय स्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको छ ।
‘विश्वमा भइरहेको वातावरण विनाशका लागि हाम्रो योगदान नगन्य भए पनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु,’ राष्ट्रपतिले जारी गरेको सन्देशमा भनिएको छ ।
Discussion about this post