इलाम । यस वर्ष मनसुन ढिलो सुरु हुँदा तराईमा मात्र होइन पहाडी क्षेत्रमा पनि तापक्रम बढिरहेको छ । सामान्यभन्दा धेरै तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ ।
सागसब्जी मनग्य उत्पादन भइसक्नुपर्ने बेलामा निकै अभाव खेप्नुपरेको छ । खडेरीले गर्दा चियालगायत उत्पादन पनि प्रभावित हुने अवस्था देखिएको छ ।
माईजोगमाई गाउँपालिकाकी सावित्रा सुवेदी गएका वर्ष यस सिजनमा भएको हरियाली स्मरण गर्दै यस वर्ष तरकारी खान समेत समस्या भएको बताउँछिन् । उनले भनिन्, ‘पोहोरउँधी त यो बेला थरिथरीका तरकारी हुन्थे यस वर्ष हरियो तरकारी नै छैन ।’
गएका वर्ष यस सिजनमा धान हुने क्षेत्रका पनि माथिल्ला ठाउँमा धान रोप्ने गरिन्थ्यो । तर यस वर्ष धानको बिउ नै राख्न समस्या भएको छ । धान हुने क्षेत्रमा पनि रोपाईँ गर्न नै समस्या हुने स्थिति आएको सूर्योदय नगरपालिकाका दुर्गाभवानी पोख्रेल बताउँछिन् । उनले यस बर्षको जेठमा पनि अत्याधिक घाम लागेकै कारण भएको हरियाली सुक्खा बन्दै उनले गएको बताइन् ।
गाईपालन गर्ने किसानहरु घाँस सुक्दै गएपछि चिन्तित छन् । लैनो गाईले समेत हरियो घाँस खान नपाएपछि दूध समेत घटेको किसानहरुको भनाई छ । किसानले जुन अनुपातमा बिगत वर्षहरुका तरकारी बिक्री गर्थे यस वर्ष त्यसरी उत्पादन हुन नसकेको बताउँदै आएका छन् ।
तराईमा गर्मी बढेको छ । सामान्यतया तराईमा भन्दा पहाडमा गर्मी कम हुन्छ । तर बिगत वर्षहरुमा भन्दा यस वर्ष पहाडमा समेत गर्मी ज्यादा अनुभव भएको छ ।
यस सिजनमा केही क्षण वा एक वा दुई दिनमात्र तापक्रम बढ्ने गरेको भएपनि यस वर्ष सातायता पानी नपरेका कारण गर्मी उधुमै बढेको छ ।
इलाम नगरपालिका वडा नम्वर ७, चोक बजारमा राखिएको तापक्रम मापन केन्द्रमा पनि ३० डिग्री तापक्रम पाइएको छ । यसअघि मध्य दिनमा यहाँ ३२ डिग्रीसम्म तापक्रम मापन भएको थियो ।
तराईका केही जिल्लाहरुमा गर्मी बढेकै कारण बर्खे बिदामा कटौती हुने गरि विद्यालयमा बिदा दिइएको छ । पहाडमा समेत विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएको बिद्यार्थीहरुको भनाई छ । बिद्यालयमा लगाइएको टिनको छाना तात्तिँदा कक्षा कोठामा बसेका विद्यार्थी र शिक्षकलाई सकस पर्ने गरेको छ ।
यस वर्ष समयमा पर्याप्त पानी नपर्दा गर्मी बढेको छ । गर्मी बढेपछि जिल्लाका चिया किसानले समस्या भोग्नु परेको छ । चिया पलाउन ढिलाइ भइरहेको छ ।
Discussion about this post