विराटनगर । सुनसरीको इटहरीमा प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
कोसी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा साइकलयात्री इटहरी–११ का ६० वर्षीय भरत दाहालको मृत्यु भएको हो ।
मोटरसाइकलले सोमबार दिउँसो ४ः५५ बजेतिर ठक्कर दिँदा दाहाल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा राति १०ः३० बजेतिर उनको मृत्यु भएको हो । सडक पार गर्दै गरेको अवस्थामा तीव्र गतिमा रहेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोटरसाइकल चालक सुनसरीको रामधुनी–७ का २२ वर्षीय विशान सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीका जवान रहेका सुन्दास सुनसरीको दुहवीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत थिए ।
Discussion about this post