झापा । आफूमाथि स्थानीय भुपाल ओलीले बिनाकारण दुर्व्यवहार गरेको भन्दै कारवाहीको मागसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टामा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सभाका पूर्वसदस्य श्रीप्रसाद मैनालीले उजुरी गरेका छन् ।
काँकडभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा आफूमाथि बिहीबार दुर्व्यवहार भएको मैनालीले बताएका छन् । द्रोणाचार्य क्षेत्रीको ३०औं स्मृति सभामा सहभागी हुन मैनाली खानेपानीको सभाहल जाने क्रममा ओलीले अभद्र व्यवहार गरेको बताइएको छ ।
मैनालीले भने ‘मसँग असम्बन्धित पुरानो विषय निकालेर ओलीले अभद्र व्यवहार देखाए । उनले गरेको दुर्व्यवहार विरुद्ध प्रहरीमा उजुरी दिएको छु ।’
भुपाल ओली यातायात व्यवसायी हुन् । उनले ४–५ वर्षअघि काउन्टर माग गर्दा नपाएको भन्ने विषय निकालेर मैनालीलाई दुर्व्यवहार गरेको बुझिएको छ । मैनाली भन्छन् ‘ओली हिमाल नेपाल यातायात प्रा.लि. को कार्यबाहक भन्दै हिँडेको याद छ, अन्य विषय थाहा भएन ।’
मैनालीमाथि भएको अभद्र व्यवहार विरुद्ध मेचीनगरमा रहेका विभिन्न यातायात संघ संगठन, श्रमिक संघ संगठनहरुले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।
विज्ञप्ति मार्फत कारबाहीको माग समेत गरेका छन् । पूर्व मेची बस व्यवसायी प्रालिले विज्ञप्ति जारी गर्दै अमानवीय र अभद्र व्यवहारविरुद्ध भर्त्सना गरेको छ ।
ओली नेकपा एमालेमा आवद्ध छन् । उनलाई मेचीनगर कमिटीले कारवाहीका लागि जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
Discussion about this post