विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यवसायमा कर बृद्धि गरेपछि त्यसमा संशोधन गर्न माग गरेको छ ।
असार १० गते प्रस्तुत गरिएको नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यावहारिक करको दरप्रति महासंघ मोरङले महानगरपालिकाका प्रमुख नागेश कोइरालाको ध्यानाकर्षण गराएको हो ।
अव्यावहारिक रुपमा गरिएको करको दरले महानगरमा रहेर सञ्चारसँग सम्बन्धित केही पेशा, व्यवसाय गर्छु भन्नेलाई हतोत्साहित गर्छ भन्ने महासंघको ठहर रहेको महानगर प्रमुख कोइरालाई बुझाइएको ध्यानाकर्षणमा उल्लेख छ ।
महानगर प्रमुख कोइरालालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ पछिल्ला समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सञ्चार संस्थाहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवीहरू कामबाट धमाधम निकालिने क्रम बढ्दो छ । यही अवस्थामा कतिपय सञ्चारकर्मीहरूले स्वरोजगारमूलक व्यवसाय सुरु गर्ने प्रयास पनि गर्दै छन् । यस्तो अवस्थामा स्थानीय सरकार हुनुको नाताले त्यस्ता स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो करको दायरामा ल्याउने नाममा तिनबाट ठूलो रकम कर असुल्ने महानगरपालिकाको नीति कुनै पनि आधारमा सञ्चारमैत्री मान्न सकिदैन ।’
ध्यानाकर्षण पत्र बुझ्दै महानगर प्रमुख कोइरालाले करको दर संशोधन गर्ने प्रतिबद्धता जनाएको महासंघले उल्लेख गरेको छ ।
Discussion about this post