विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टका खेलको सेमिफाइनल समीकरण पूरा भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भइरहेको खेलका सबै इभेन्टका खेलको सेमिफाइनल खेलका समीकरण शुक्रबार पूरा भएको हो ।
प्रतियोगिताका सबै इन्भेटका फाइनल चरणका खेल शनिबार हुनेछ ।
प्रतियोगिताको मेन्स सिंगलतर्फ उदयपुरका विनय चौधरी र झापाका नवीन सिलवाल, मेन्स डबल्सतर्फ उदयपुरका विनय चौधरी र हिमाल श्रेष्ठको जोडी तथा झापाका प्रकाश राई र नवीन सिलवालको जोडी फाइनल प्रवे गरेको छ ।
यसैगरी, मास्टर डबल्स ४५ वर्षमाथितर्फ श्याम लामा र राम तामाङको जोडी तथा विराटनगरका जीवन बोगटी र शिखर श्रेष्ठको जोडी, मास्टर डबल्स ६० वर्षमाथितर्फ विराटनगर ब्याडमिन्टन क्लब किरणसिंह बस्नेत र मनोज लाखेको जोडी तथा विराटनगर ब्याडमिन्टन क्लबका केशव कार्की र श्याम लामाको जोडी फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ विनय चौधरीले सुनसरीको रोधन राईलाई २१–१२ र २१–१९ ले पराजित गर्दै फाइनलमा पुगे भने नवीन सिलवालले विराटनगर ब्याडमिन्टन क्लबका सुप्रिम पन्तलाई २२–२० र २१–१० मा पराजित गर्दै फाइनलमा पुगे ।
मेन्स डबल्सतर्फ विनय चौधरी र हिमाल श्रेष्ठको जोडीले विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी र यशवन्त विक्रम शाहलाई २१–११ र २१–१० मा पराजित गर्दै फाइनलमा पुगे । प्रकाश राई र नवीन सिलवालको जोडीले मन्दीप घले र लाक्पा शेर्पाको जोडीलाई २१–६ र २१–१८ मा पराजित गर्दै फाइनलमा पुगे ।
मेन्स मास्टर डबल्स ४५ वर्ष माथितर्फ सागर फिड्सका श्याम लामा र राम तामाङको जोडीले विराटनगर–बेलबारीका डिल्लीराम डाँगी र विकास श्रेष्ठको जोडीलाई २६–२४ र २१–८ ले पराजित गर्दै फाइनलमा पुगे । विराटनगरका जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले मोरङका यशवन्त विक्रम शाह र धनकुमार श्रेष्ठको जोडीलाई २१–१७ र २१–९ ले पराजित गर्दै फाइनलमा पुगेका छन् ।
मेन्स मास्टर डबल्स ६० वर्ष माथितर्फ किरणसिंह बस्नेत र मनोज लाखेको जोडीले मणि गुरुङ र देव तामाङको जोडीलाई २२–२० र २१–६ ले पराजित गर्दै फाइनलमा पुगेका छन् । केशव कार्की र श्याम लामाले विराटनगरका पुष्पधन शाक्य र रिन्जे गुरुङको जोडीलाई २१–२३, २१–१५ र २१–११ मा पराजित गर्दै फाइनलमा पुगेका छन् ।
असार १६ गतेसम्म हुने प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, मास्टर ४५ वर्षमाथि र मास्टर ६० वर्षमाथिका प्रदेश भरबाट १ सय बढी खेलाडीको सहभागिता छ ।
प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सका प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।
Discussion about this post