पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंपछि आर्थिक क्रियाकलाप बढी हुने पोखरामा मध्यम खालका उद्योग र पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘मध्यम खालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ । यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौं ।’
संरक्षण दिने सरकारको नीति भएकाले गर्दा पोखराका साना र मझौला उद्योग वृद्धि हुने मन्त्री डा. महतको भनाइ थियो ।
अर्को प्रसंगमा उनले सुनमा लक्जरी कर नलगाएको बताए । उनले हीरा र मोतीमा मात्र उक्त कर लगाइएको जनाए ।
ट्राभल्समा भ्याट लगाएको उल्लेख गर्दै उनले एयरलाइन्सलाई मात्र लगाइएको बताए ।
Discussion about this post