झापा । नेपाली सेनाले प्रकोप व्यवस्थापनमा अग्रपंक्तिमा रहेर प्रभावकारी काम गर्दै आएको छ । प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपद्का घटनामा नेपाली सेनाले उद्धार, खोज तथा राहत वितरणको कामलाई प्रभाकारी रूपमा अगाडि बढाउँदै आइरहेको छ ।
विपद्का घटनाहरूको सामना गर्न सेनाले छुट्टै गण स्थापना गरेर तालिम प्राप्त जनशक्तिलाई तयारी अवस्थामा राख्ने गरेको छ ।
विपद् व्यवस्थापनबारे विभिन्न तालिम लिएका गणका सेनाहरू देशका जुनसुकै भूभागमा प्राकृतिक तथा अन्य विपत्तिका घटनाबाट मानिसको उद्धार तथा हराएका मानिसको खोजीकार्यका लागि परिचालित हुने गरेका छन् ।
विशेषगरी नेपाली सेनाले आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला भग्नावशेषबाट उद्धार, सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्नेलगायतको तालिम लिएका छन् ।
विपद् व्यवस्थापनका लागि जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धि कानूनलाई संशोधन र एकीकरण गर्न ऐन बनेसंगै नेपाली सेनाले थप रचनात्मक कार्य गर्र्दै आएको छ ।
यसै सन्दर्भमा झापाको चारआलीमा रहेको अरिदमन गणले पनि विपद् व्यवस्थापनसम्बन्धी पाँच दिने अभ्यास सम्पन्न गरेको छ ।
बिपद् ब्यवस्थापन तथा न्यूनीकरणका लागि शुरु भएको पाँच दिने ‘अभ्यास हातेमालो–५’ कार्यक्रम सम्पन्न गर्दै जोखिम न्यूनीकरणका क्षेत्रमा चासो देखाएको छ । जिल्लामा हुने वाढी, पहिरो, डुवान, आगलागी तथा भुकम्प जस्ता विपद्का समयमा जनधनको क्षतिको न्यूनीकरण उद्धार र राहत कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण निकायहरु समन्वयातमक ढंगबाट परिचालन गर्ने भन्दै गत असार ११ गतेदेखि शुरु भएको अभ्यास हातेमालो–५ कार्यक्रम एक समारोहकाबीच समापन गरिएको छ ।
चारआलीस्थित अरिदमन गणमा आयोजित कार्यक्रमको समापन प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल गरेका थिए ।
विपद् व्यवस्थापनसँग समन्वय निकायहरुको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीको बारेमा एक आपसमा जानकारी आदान–प्रदान गर्ने उदेश्यले नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले पाँच दिनसम्म तालिम सञ्चालन गरेको थियो ।
नेपाली सेनाले प्रत्येक वर्ष संचालन गर्दै आएको संयुक्त अभ्यास हातेमालो कार्यक्रम यसवर्ष गत जेठ ७ र ८ गते २ दिन नेपाली सेनाको जंगी अड्डामा संचालन भएको थियो ।
त्यस्तै गत जेठ २८ र २९ गते प्रदेश स्तरीय अभ्यास हातेमालो सुनसरी स्थित नेपाली सेनाको पूर्वी पृतना हे.क्वा.मा भएको थियो भने झापा जिल्ला स्तरीय अभ्यास हातेमालो–५ अरिदमन गण चारआली व्यारेकमा सञ्चालन भएको गरिएको थियो ।
हातेमालो अभ्यास–५ कार्यक्रममा सहभागिहरुलाई अरिदमन गणका गणपति प्रमुख सेनानी ईमेश मेहर श्रेष्ठले स्वागतसहित अभ्यासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेपाली सेनाका प्रमुख सेनानी इमेशमेहर श्रेष्ठ सहितका पदाधिकारी, सशस्त्र प्रहरी वल नेपालका पदाधिकारी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, विपद् व्यवस्थापन समितिका कलस्टर प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी झापा, मेचीनगर नगरपालिका, नेपाल स्काउट, झापा जिल्लास्थित इम्पेनल स्कूलका बिद्यार्थीहरु, स्थानीय तहका विपद् सम्बन्धी फोकल प्रतिनिधि, पत्रकार लगायतको सहभागितामा अभ्यास समापन गरिएको थियो ।
Discussion about this post