काठमाडौं । १४ औँ संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि ८ पटकको च्याम्पियन भारतले आमन्त्रित टोली कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे बेंग्लोरको कान्तिरभा स्टेडियममा हुनेछ ।
यो पटकको फाइनल खेल अघिल्ला संस्करणभन्दा फरक हुनेछ । यसपटक मध्यपूर्वी राष्ट्र कुवेत फाइनलमा पुगेको छ ।भारत र कुवेतबीच समूह ‘ए’ को अन्तिम खेलमा भेट भएको थियो । यो खेल एक-एक गोलको बराबरी रोकियो । पछिल्ला तीन खेलयता भारत लगातार तीन पटक आमन्त्रित टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।
समूह चरणपछि भारतले लेबनानलाई सेमिफाइनलमा भेटेको थियो । जसमा जित हात पार्न उसलाई टाइब्रेकरको सामना गर्नु परेको थियो । आजको खेलमा संयमता अपनाउँदै जित निकाल्ने पक्षमा भारतीय टोली हुनेछ ।
आज प्रमुख प्रशिक्षक इगोर इस्टिमाचको अनुपस्थितिमा टिमको नेतृत्व महेश गावलीले सम्हाल्नेछन् । इस्टिमाचले कुवेतविरुद्धको तनावपूर्ण खेलमा रातो कार्ड पाएपछि कारबाही स्वरुप सेमिफाइनल र फाइनल गुमाएका हुन् । आजको खेलमा आफ्नो टोली जितका लागि मात्रै केन्द्रित हुने उनको भनाइ छ । घरेलु मैदानमा भारत लगातार दोस्रो उपाधिको खोजीमा छ ।
आमन्त्रित टोली कुवेतका प्रशिक्षक रुइ बेन्टोले पनि आफ्नो टिमको लक्ष्य उपाधि नै रहेको जनाएका छन् । उत्कृष्ट फर्ममा रहेको कुवेत ८ खेलदेखि अपराजित छ । आफ्नो पहिलो सहभागितामै साफको उपाधि नजिक पुगेको यो टोली सन् २०१० देखि उपाधिविहीन छ ।
१३ वर्षअघि कुवेतले अरबियन गल्फ कप जितेको थियो । भारतविरुद्धको खेलमा आफ्ना खेलाडीले सय प्रतिशतभन्दा बढी खेल्ने प्रशिक्षक बेन्टोको विश्वास छ । एएफसी एसिया कपमा छनोट भएको भारत र सन् १९८० को विजेता कुवेतबीच पछिल्लो पटक भएको दुई भेटमा कुवेत अपराजित छ ।
नवौं पटक साफ उपाधिको खोजीमा रहेको भारतले पछिल्ला ८ संस्करणदेखि लगातार फाइनलमा स्थान बनाएको छ । त्यसअघि पनि सन् २००३ बाहेक भारतले सबै संस्करणको फाइनल खेलेको छ । अहिलेसम्म भारतसहित माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले मात्र साफको उपाधि जितेका छन् । कुवेत विजयी भए साफ च्याम्पियनको सूचीमा नयाँ देश थपिने छ ।
Discussion about this post