धरान । धरान उपमहानगरपालिकामा फैलिएको डेंगुको संक्रमण नियन्त्रण हुन सकेको छैन । बिरामीको संख्या बढिरहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।
पछिल्लो एक हप्तामा मात्रै धरानमा ३ सय ६१ जनामा डेंगु संक्रमण पाइएको छ । परीक्षण गराउनेहरु मध्ये आधाभन्दा बढीलाई डेंगु संक्रमण देखिएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पछिल्लो दुई दिनमा गरिएको परीक्षण अनुसार ६० प्रतिशतभन्दा बढीमा डेंगु संक्रमण पाइएको छ ।
डेंगु संक्रमणका कारण धरानको वडा १५, १७, ११ बढी प्रभावित छन् । अन्य वडामा समेत संक्रमणको दर उत्तिकै रहेको मेहताले बताए । डेंगु नियन्त्रणका लागि वडा कार्यालयहरुले ‘फगिङ’ गर्ने तथा ‘सर्च एण्ड डिष्ट्रोए’ अभियान चलाइरहेका छन् । अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिए डेंगु नियन्त्रणमा आउन अझै २ हप्ता लाग्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
सामाजिक सञ्जालमा भने डेंगु नियन्त्रणमा उपमहानगर तथा वडा कार्यालयहरुले प्रभावकारी रुपमा अभियान सञ्चालन नगरेको भनेर आलोचना भइरहेको छ ।
धरान–१५ का श्री राईले फेसबुकमा वडा कार्यालयले डेंगु नियन्त्रणका लागि काम नगरेको भनेर आलोचना गरेका छन् । त्यस्तै धरान–१७ का अभियान राईले मेयर हर्क साम्पाङ बिरुवा रोप्न मात्रै कुदेको र डेंगु नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै आलोचना गरेका छन् ।
Discussion about this post