इलाम । इलाममा सवारी दुर्घटना दर बृद्धि हुँदै गएको छ । साँघुरो सडकमा सवारी साधनको चाप बढेसँगै वार्षिक रुपमा दुर्घटना दर समेत बृद्धि हुँदै गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ३२ वटा सवारी दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।
दुर्घटनामा परेर १ सय १८ जना मानिस घाइते भएका थिए । चालु आर्थिक बर्ष ०७९/८० को असार अन्तिममा जिल्लामा सवारी दुर्घटनाको संख्या भने उच्च छ । दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने गत आर्थिक बर्षको तुलनामा कम छ ।
चालु आर्थिक बर्षमा इलाममा ११ जनाको दुर्घटनामा ज्यान गएको छ । १ सय ११ जना घाइते भएका छन् । चालु आर्थिक बर्षमा जिल्लामा ६२ वटा सवारी साधन दुर्घटनामा परेको छ ।
भौगोलिक कारण, घुमाउरो बाटो, मौसमको कारण साथै चालकको लापार्वाहीको कारण इलाममा सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका इन्चार्ज दिपक दुलालको भनाई छ ।
पछिल्लो समय जिल्लामा सवारीसाधनको संख्या वृद्धि हुदै गएकाले पनि साँघुरो सडकमा चाप बढेको छ । साँघुरो सडकमा वढि चाप भएका कारण पनि दुर्घटना दर बृद्धि हुँदै गएको छ ।
दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी चालकका साथै जिल्लाका बिभिन्न बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको कार्यालयका प्रहरी हवल्दार रिद्धी खनालले बताए । उनले ट्राफिक सप्ताह सञ्चालन गरेर पनि सचेतना अपनाइएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा साना सवारी साधन बढि दुर्घटनामा परेको छ । त्यसमध्ये पनि दुईपांग्रे बढी छ । चालु आवको हालसम्म मोटरसाईकल ३० वटा दुर्घटना हुँदा जिप–कार १८ वटा दुर्घटना भएको छ । दुर्घटनाको संख्या मात्र नभएर दुईपांग्रेबाट ज्यान गुमाउने संख्या पनि अन्य सवारीसाधनको भन्दा उच्च रहेको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म दुईपांग्रे सवारी साधनबाट १० जनाले ज्यान गुमाएका छन् । सचेतना कार्यक्रम अन्तर्गत सवारी चालकको स्वास्थ्य परिक्षण, मापसे, लापसे सेवनको जाँच, सवारी जाँच समेत भएको छ ।
यातायात ब्यवस्था कार्यालय इलामको सहयोगमा गरीएको सवारी चेकजाँचका क्रममा ग्रामिण भेगमा चल्ने सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु राखेर ओसार पसार गर्ने गरेको पाइएपछि कडाइ गरिएको यातायात कार्यालय इलामका प्राबिधिक सुरज केसीले बताए । उनले क्षमताभन्दा वढि यात्रु राखेर ओसार पसार गर्दा दुर्घटना बढ्ने भएपछि पनि यसलाई नियन्त्रण गर्न लागिएको बताइएको छ ।
जिल्लामा कच्ची र पक्की गरी सवारी साधन चल्ने ५ हजार ४ सय ८९ किलोमिटर सडक रहेको छ । त्यसमा कालोपत्रे सडक २ सय ९० किलोमिटर रहेको छ । कार्यालयले चालु आर्थिक बर्षमा ट्राफिक नियम उल्लङघन गर्ने ११ हजार ८ सय ५१ सवारी साधनलाई कारबाही गरेको छ ।
कारवाहीबाट ६७ लाख ६५ हजार रुपैंयाँ राजश्व संकलन गरेको छ । संकलित यो राजश्व र सवारी कार्वाही गत आर्थिक बर्षको भन्दा बढी हो । गत आर्थिक बर्षमा ८ हजार ८ सय ८७ सवारी साधनलाइ कार्वाही गर्दा ५१ लाख ६० हजार रुपेंयाँ राजश्व संकलन भएको थियो ।
Discussion about this post