विराटनगर । चिकित्सकको लापरबाहीका कारण झापाकी एक गर्भवती महिलाको मृत्यु भएको खुलेको छ । घटनाबारे प्रहरीले गरेको अनुसन्धानका क्रममा महिलाको मृत्यु चिकित्सकको लापर्बाहीले भएको खुलेको हो ।
झापाको दमक नगरपालिका–४ ताराबारीकी ४० वर्षीया कल्पना राईको पेटभित्र २२ हप्ताको बच्चाको मृत्यु भइसकेको अवस्थामा गर्भपतनका लागि दिइएको औषधिको असरले उनको मृत्यु भएको प्रहरीले खुलाएको छ । औषधि सेवनपछि अत्यधिक रक्तश्राव भएर राईको मृत्यु भएको जनाइएको छ ।
गत जेठ २५ गते कल्पनालाई मोरङको उर्लाबारी नगरपालिका–६ को आश्रय मेडिकल हलमा जँचाइएको थियो । त्यस बेला भिडियो एक्स–रे गर्दा २२ हप्ताको गर्भ रहेको पाइएको थियो। त्यस क्रममा पेटभित्रै बच्चाको मृत्यु भइसकेको पाइएको थियो ।
जेठ ३१ गते गर्भपतन गराउन औषधि दिएर उनलाई मेडिकलले घर पठाएको थियो । आश्रय मेडिकल हलले गर्भपतनको अनुमति पाएको छैन । विशेष परिस्थितिबाहेक २२ हप्ताको गर्भपतन गराउनु कानुनविपरीत हो । सामान्यतया गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ ।
स्थानीय सन्तोष घिमिरेले सञ्चालन गरेको आश्रय मेडिकल हलमा निश्चित समय बिरामीको जाँच गर्न पुग्ने गरेकी डा. ममता पण्डितले असुरक्षित तरिकाले गर्भपतन गराउन खोजेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा प्रहरीले पैसाको प्रलोभनमा परेर अनुमति नै नलिएको मेडिकल हलमा गैरकानुनी हिसाबले गर्भपतन गराउन खोजिएको पत्ता लागेको हो । गर्भपतन गराएवापत पण्डितले २२ हजार रूपैयाँ लिएको स्रोतले दाबी गरेको छ ।
गर्भपतन गराउने दिइएको औषधि सेवन गर्दा महिलामा अत्यधिक रक्तश्राव भएको थियो । त्यसपछि कल्पना जेठ ३२ गते फेरि मेडिकल गएकी थिइन् । अवस्था अलि जोखिमपूर्ण भएको पाइएपछि डा. पण्डितले आफू कार्यरत मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाएकी थिइन् । त्यहाँ पुर्याएपछि डा. पण्डित नेतृत्वकै टोलीले कल्पनाको शल्यक्रिया गरिएको थियो ।
असार २ गते शल्यक्रिया गरी मृत बच्चा निकालिएको थियो । महिलाको स्वास्थ्य अवस्था झन् खराब भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा असार ३ गते कल्पनाको मृत्यु भएको थियो ।
कल्पनालाई डा. पण्डितले २ सय एमजीका ‘मिफप्रिस्टोन’ र ‘मेजोप्रोस्टोल’ नामक औषधि दिएको खुलेको छ । मदन भण्डारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साह अवैध हिसाबले गर्भपतन गराउन औषधिको प्रयोग गराउँदा समस्या भएको स्वीकार्छन् ।
कल्पनाको मृत्यु भएपछि उनका पति युवराज राईले मेडिकल सञ्चालक घिमिरेका नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । घिमिरेले डा. पण्डितकै सिफारिसमा ‘एक डोज औषधि दिएको’ प्रहरीलाई बताएका छन् ।
त्यस क्रममा डा. पण्डितले दिएको औषधिका कारण अत्यधिक रक्तश्राव भइ कल्पनाको मृत्यु भएको प्रहरीले पत्ता लगायो । असार १५ गते अदालतबाट पक्राउ अनुमति लिएर कल्पनाको खोजी गरियो । घटनालगत्तै अस्पतालबाट २० दिनको बिदा लिएर डा. पण्डित अन्यत्र गएकी थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले पनि कल्पनाको मृत्युमा डा. पण्डित जिम्मेवार रहेको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
डा. पण्डितले उपचारमा कुनै लापरबाही नगरेको बयान दिएकी छन् । बिरामीको यौनाङ्गबाट रगत बगिरहेको र बच्चाको गर्भमै मृत्यु भइसकेको उनले बताएकी छन् । सुविधासम्पन्न अस्पतालमा लैजान आफूले सल्लाह दिएको उनको भनाइ छ ।
प्रहरीले असार २५ गते जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । डा. पण्डितलाई फरार प्रतिवादी बनाएर बुझाइएको प्रतिवेदन सरकारी वकिल कार्यालयले प्रहरीलाई फिर्ता गरिदिएको थियो ।
डा. पण्डित असार २६ गते उनी इलाका प्रहरी कार्यालय उर्लाबारीमा हाजिर भइन् । प्रहरीले उनको बयान लिएको थियो । उक्त बयान प्रमाणित गरेर सरकारी वकिल कार्यालयले त्यसै दिन उनलाई हाजीर जमानीमा छाडिदिएको थियो । डा. पण्डित गत बुधबारदेखि अस्पताल हाजिर भएर काम गर्न थालेकी छन् ।
अनुसन्धानबाट दोषी देखिएकी डा. पण्डितलाई सामान्य हिसाबले छाडिएको स्रोतको भनाइ छ । अनुसन्धान अधिकारीसँग समन्वय नगरी सहायक न्यायाधिवक्ता रोहित पोखरेलले हाजिर जमानीमा छाडेका थिए ।
सरकारी वकिल कार्यालय मोरङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले हिरासतमा राख्न नपर्ने अवस्था देखिएका कारण डा. पण्डितलाई हाजिर जमानीमा छाडिएको बताए ।
घटनामा संलग्नविरुद्ध मुलुकी अपराध संहिताको दफा १७८ बमोजिम ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाउनुपर्ने र दफा १८६ बमोजिम क्षतिपूर्ति भराउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । दफा १७८ अनुसार मानिसको ज्यान जान सक्छभन्ने जानीजानी त्यस्तो काम गरेर कसैको ज्यान मरेमा कसूरदारलाई जन्मकैदको सजाय हुने व्यवस्था छ । प्रहरीको राय अनुसार मुद्दा नचलाउने र अनुसन्धानका लागि मेडिकल काउन्सिलमा पठाउने निर्णय सहायक न्यायाधीवक्ता पोखरेलले गत बिहीबार गरिदिएको पाइएको छ ।
जिल्ला न्यायाधिवक्ता भट्टराईले औषधि उपचार गराउँदा बिरामीको मृत्यु भएमा मुद्दा मेडिकल काउन्सिलले हेर्ने कानुनी व्यवस्था रहेको बताए । उपचार गर्दा बिरामीको ज्यान गएको र चिकित्सक जोडिएको घटना भएकाले मुद्दा नै मेडिकल काउन्सिल पठाउने निर्णय लिइएको उनको भनाइ छ ।
Discussion about this post