विराटनगर । मोरङको विराटनगर र पथरीशनिश्चरेबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित मंगलबार साँझ दुईजना पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका–३ का २६ वर्षीय सागर सहनी विराटनगरबाट पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट साँझ ५ः२० बजेतिर उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार भारतको जोगवनीबाट नेपालतिर पैदल नै आउँदै गरेका सहनीलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । शरीर खानतलासी गर्दासाथबाट २.४० ग्राम ब्राउन सुगर बरामद भएको दाहालले बताए ।
त्यस्तै, घरको कोठाभित्र ब्राउन सुगर भेटिएपछि पथरीशनिश्चरे नगरपालिका–१ का २४ वर्षीय अनिल भट्टराई पक्राउ परेका छन् ।
भट्टराईको घरबाटै लागूऔषध बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ खानतलासी गर्दा ८ सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
डीएसपी दाहालले सुत्ने कोठाको खाटमुनि ब्राउन सुगर भेटिएपछि भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए ।
सहनी र भट्टराईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट बुधबार म्याद लिएर थप अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।
Discussion about this post