भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।
सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।
‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाकाबाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन्’ उनले भने ।
सुरक्षा निकायसहितको समन्वय समिति रहेको र कुनै कारणबाट राजश्व उठाउने क्रममा दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको मन्त्री महतले बताए ।
‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने, उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’
Discussion about this post