विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२ स्थित प्राचीन सिंहदेवी मन्दिरअगाडि भइरहेको चर्च निर्माण नरोकेको भन्दै त्यहाँका मेयर हर्क साम्पाङमाथि कारबाही गर्न वैदिक सनातनसम्बद्ध सङ्गठनहरूले माग गरेका छन् ।
विभिन्न वैदिक सनातन धार्मिक समूहहरूकाे उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापनपत्र बुझाउँदै मेयर साम्पाङउपर कारबाहीको माग गरिएको हो ।
श्रीबालगोपाल मन्दिर र शिवशक्ति कल्याणी केन्द्रको मन्दिरभन्दा ३० फिटको दूरीमा बिनाअनुमति चर्च निर्माण भइरहँदा पनि रोक्ने प्रयास नगरेको भन्दै सो सङ्गठनले मेयर साम्पाङमाथि कारबाहीको माग गरेको हो । चर्च निर्माण गर्ने पक्षले व्यक्तिगत प्रयोजनका लागि भवन निर्माण गर्न रुख कटानको अनुमतिमात्र माग गरेको अभिलेख उपमहानगरपालिकासँग रहेको पाइएको छ ।
पार्टी प्यालेस बनाइने भन्दै निर्माण थालिएकाे उक्त भवनकाे उपमहानगरसँग अनुमतिसमेत नलिइएकाे खुलेकाे छ । मन्दिरकै नजिक चर्च बनाइएपछि देशभरका सनातनधर्मीहरू असन्तुष्ट भएका हुन् । हिन्दु जागरण नेपाललगायत दर्जनाैँ धार्मिक संस्थाले विराेध जनाएका छन् ।
मेयर साम्पाङ आफैँले चर्चको संरक्षण गर्दै हिन्दुविरोधी फेसबुक स्टाटसहरु पोस्ट गरी जातीय र धार्मिक सद्भाव भड्काउने कार्य गरेको भन्दै तत्काल साम्पाङले क्षमायाचना गर्नुपर्ने सङ्गठनले माग गरेको छ ।
सङ्गठनले सोही ज्ञापनपत्र सुनसरी जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि पठाएको छ ।
Discussion about this post