विराटनगर । सर्वोच्च अदालतको आदेशले उद्धव थापाको सरकार ढलेसँगै कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीका रूपमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता नेता हिक्मतकुमार कार्कीको पुनर्वहाली भएको छ ।
कार्कीले उनले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने भएका छन् । उनी साउन १७ गतेसम्म प्रदेशको कामचलाउ मुख्यमन्त्री रहने छन् ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बिहीबार बदर गरिदिएको थियो ।
थापाको नियुक्ति बदर गर्दै सर्वोच्चले १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्ने गरी प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख पर्शुराम खापुङका नाममा आदेश दिएको छ । त्यसबेलासम्म सरकारविहीनताको अवस्था आउन नदिन कार्की कामचलाउ मुख्यमन्त्री रहने छन् ।
कार्कीको उनको नेतृत्वमा सरकारमा रहेका मन्त्रीहरुले पनि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । सरकारमा एमालेका बुद्धिकुमार राजभण्डारी सामाजिक विकास एवं पर्यटन, वन तथा वातावरण र तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्री थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौला उद्योग, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
कार्की २०७९ पुस २४ गते प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री नियुक्त भएका थिए । आफ्नै दल एमालेसहित नेकपा (माओवादी केन्द्र), राप्रपा र जनता समाजवादी पार्टी (जसपा) समेतका ६० प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । राजनीतिक समीकरण फेरबदल भएसँगै जसपाले जेठ १७ र माओवादीले २३ गते समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
असार १५ गते संसदबाट विश्वास गुमाएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गरे । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर खापुङले कांग्रेस नेता थापालाई असार २१ गते मुख्यमन्त्री नियुक्त गरे । त्यसविरुद्ध एमाले नेता कार्कीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले असंवैधानिक रहेको भन्दै थापाको नियुक्ति बदर गरिदिएको थियो ।
थापाको नियुक्ति बदर भएपछि सरकार शून्यताको अवस्था हुन नदिन आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाएको कार्कीले बताए । संविधानले सरकार शून्यताको परिकल्पना नगरेका कारण अर्को सरकार गठन नभएसम्मका लागि कामचलाउ मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्ने कार्कीको भनाइ छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । संसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १२ (सभामुखबाहेक), राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् ।
Discussion about this post