विराटनगर । सर्वोच्च अदालतको फैसलापछि ‘कामचलाउ मुख्यमन्त्री’ को दाबी गरेका हिक्मतकुमार कार्की काठमाडौंबाट विराटनगर आएलगत्तै निजी निवासतर्फ गएका छन् ।
कार्की आज शुक्रबार मुख्यमन्त्री कार्यालय गएर कामचलाउ मुख्यमन्त्रीका रुपमा दाबी गर्ने तयारीमा थिए । काठमाडौंबाट विराटनगर विमानस्थल आएका उनलाई ‘मुख्यमन्त्री’ का रुपमा स्वागत गरिएन ।
सर्वाेच्च अदालतले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई बर्खास्त गरी साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ ।
यसबीचको अवधिमा मुख्यमन्त्री को हुने भन्ने स्पष्ट नभएकाले अन्योल भएको छ ।
काठमाडौंबाट विराटनगर आएपछि मुख्यमन्त्री कार्यालय जाने बताउँदै आएका कार्की विमानस्थलबाट निजी निवासतिर लागेका थिए ।
यसैबीच, कार्कीले अरु दलले सरकार गठनका लागि आधारसहित दाबी गरे बाधक नबन्ने बताएका छन् ।
विमानस्थलमा संवाददाताहरुसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । जोसँग बहुमत पुग्छ उसैले मुख्यमन्त्रीमा दाबी गर्ने उनको भनाइ थियो ।
एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्नेमा आफू खुला रहेको भन्दै कार्कीले स्थायित्वका लागि दुई दल मिल्न सके राम्रो हुने उल्लेख गरे ।
Discussion about this post