काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्ने प्रयास गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच यो विषयमा छलफल भएको जनाइएको छ ।
कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु उत्तम विकल्प हुनेमा दुई दलबीच सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।
कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न बाँकी रहेको नेताहरुको भनाइ छ ।
यी विषयबारे टुंगो लगाउने फेरि बैठक बस्ने सहमति भएको जनाइएको छ । यसैगरी समर्थन जुटाउने उद्देश्यले राप्रपासँग पनि छलफल गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।
अदालतले गठबन्धनबाट कोशी प्रदेशको मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरेका छन् ।
गठबन्धनलाई बहुमत संख्या ४७ पुर्याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेको ४० र राप्रपाको ६ सिट छ ।
कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, एकीकृत समाजवादीको ४ र जसपाको एक सिट छ ।
Discussion about this post