विराटनगर । मोरङको केराबारीबाट प्रतिबन्धित औषधिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ पक्राउ परेकामध्ये दुई जनाको साथबाट प्रतिबन्धित औषधि बरामद भएको छ ।
प्रहरीले को ३९ प ११०३ नम्बरको मोटरसाइकललाई केराबारी गाउँपालिका–७ मा रोकेर चेकजाँच गरेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार केराबारी–६ का २४ वर्षीय प्रेम परियार र केराबारी–१० का २४ वर्षीय विजय मगरको साथबाट नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि बरामद भएको छ । मोटरसाइकलमै सवार रहेका केराबारी–७ का २२ वर्षीय विजय सुन्दासको साथमा भने औषधि फेला परेन ।
तर, एउटै मोटरसाइकलमा सवार रहेका कारण उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । दाहालका अनुसार परियारको साथबाट प्रतिबन्धित औषधि स्पास्पेन ५६ ट्याब्लेट र ट्रामाडोल ५१ ट्याब्लेट तथा मोटरसाइकल चालक मगरको साथबाट ६ ट्याब्लेट स्पास्पेन र ६ ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।
अनुसन्धानबाट परियारको घरमा समेत सञ्चय गरेर राखेको पत्ता लाग्यो । खानतलासी गर्दा परियारको घरबाट ३ सय ३० ट्याब्लेट स्पास्पेन र ३ सय ३० पिस ट्रामाडोल बरामद भएको जानकारी डीएसपी दाहालले दिए ।
मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।
Discussion about this post