काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले थप भ्रष्टाचारका फाइल खोल्ने आश्वासन दिएका छन् । भ्रष्टाचारका फाइल खोल्दा गठबन्धन टुटाउने षड्यन्त्र भए पनि शीर्ष नेतृत्व यसमा सजग गरेको उनको भनाइ छ ।
समाजवादी विद्यार्थी मोर्चाले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचार विरोधी वा राज्यको सम्पत्ति व्यक्तिले दोहान गर्ने यो वेथितिका विरुद्ध वा तस्करीको विरुद्ध हामीले कदम चालेका छौं । यो कदम यही रोकिने वाला छैन । यो कुनै राजनीतिक स्टन्टको कुरा पनि होइन । हेर्दै जानुहोला अन्य फाइलहरु खुल्दै जाने छन् ।’
यस भ्रष्टाचारविरुद्धको लडाइँ प्रधानमन्त्री एक्लैले जित्न नसक्ने उल्लेख गर्दै दाहालले समाजवादी विद्यार्थी मोर्चालाई समर्थन गर्न अपिल गरे । दाहालले संघीय शिक्षा ऐन छिटै सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको समेत जानकारी दिए । यो ऐनले शिक्षा क्षेत्रमा निकै परिवर्तन गर्न सहयोग गर्ने उनको दाबी छ ।
माओवादी-एमाले पार्टी एकताकै बेला तयार भएको उच्च शिक्षा आयोगको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुकाएको उनको आरोप छ । सो प्रतिवेदन पार्टीको बहुमतले सार्वजनिक र कार्यान्वयन गर्ने भने पनि ओलीले असहमत रहेको उनको भनाइ छ ।
उनले भने, ‘उच्च शिक्षा आयोगको प्रतिवेदन हामी नेकपा हुँदा नै तयार थियो । केपी ओलीले सर्वजनिक गर्न मान्नुभएन । उहाँले त्यो तकियामुनि राख्नु भयो । अहिले त्यो हराएको छ ।’ आफू प्रधानमन्त्री भएदेखि नै सो प्रतिवेदनको खोजीमा लागेको उनको दाबी छ ।
Discussion about this post