काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने छ । संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी हाल पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले उनीसहित कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनका लागि रायमाझी निलम्बन भएको जानकारी गराउन लागेका हुन्।
नियमावलीको नियम २४८ को उपनियम ३ मा भनिएको छ, ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’
Discussion about this post