विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने आज मंगलबार अन्तिम दिन हो । प्रदेश प्रमुख पर्शुराम खापुङले ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई सरकारको नेतृत्वमा दाबी गर्न आह्वान गरेका थिए ।
दाबी पेस गर्ने अन्तिम दिनसम्म आइपुग्दा को मुख्यमन्त्री बन्ला भन्ने यकिन भइसकेको छैन । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।
सरकारको नेतृत्वका लागि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले दाबी गरिरहेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । नेतृत्व कसले गर्ने भन्ने टुंगो लागिनसकेको उनको भनाइ छ ।
केन्द्रमा नेताहरुले गर्ने सहमतिका आधारमा के गर्ने भन्ने टुंगो लाग्ने राईले बताए । बहुमत पुर्याउनका लागि सभामुखलाई राजीनामा गराउन सकिने विकल्प रहेको उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहयोग नगर्ने लगभग टुंगा लागेकाले विकल्प खोज्न गठबन्धनका दलहरु लागिरहेका छन् ।
सभामुखसहितको हस्ताक्षर लिएर दाबी पेस गरेका कांग्रेस दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख खापुङले असार २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । संविधानविपरीत गरिएको भन्दै थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिसकेको छ ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ गरेर गठबन्धनसँग ४७ सांसद पुग्छन् । नेकपा (एमाले) का ४० र एमालेसँग गठबन्धनमा रहेको राप्रपाका ६ गरेर एमाले–राप्रपा गठबन्धनसँग ४६ सांसद छन् ।
एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संसदबाट विश्वास गुमाएपछि उनी नेतृत्वको सरकार असार १५ गते ढलेको थियो ।
Discussion about this post