विराटनगर । धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ ।
डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले आज सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यसअघि महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
सफाई कर्मचारीहरुलाई डेंगु रोगको स्रोत, रोकथाम र नियन्त्रणका उपायका विषयमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी गराए । सरफाई गर्ने क्रममा टायर, बाल्टिन, ड्रमलगायतमा पानी जमेको पाइए तत्काल हटाउनुपर्ने उनले बताए ।
डेंगु नियन्त्रण औषधि छर्केर भन्दा घरभित्र र घर वरिपरि पानी जम्न नदिएर नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । फ्रिज, कुलर, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे उत्पादन हुने भएकाले सरसफाईबाटै डेंगु नियन्त्रण र रोकथाम गर्न सकिने हैदरले स्पष्ट पारे ।
शुक्रबार महानगरले १९ वटै वडामा बिहान ७ देखि ९ बजेसम्म डेंगु सार्ने लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ । अभियानमा सरिक हुन सरसफाई कर्मचारीहरुलाई उनले आग्रह गरे ।
Discussion about this post