काठमाडौँ । नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान आजदेखि सुरु भएको छ । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् ।
अभियान १० दिनसम्म चल्नेछ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि खटाएको छ ।
सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शनिबारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा संगठन सुदृढीकरण अभियान प्रारम्भ हुने बताए । अभियानको प्रारम्भको सन्दर्भमा शनिबार देशभरि क्षेत्रीय कार्यसमितिहरुले बैठक, भेला र छलफल कार्यक्रमहरु आयोजना गरेका छन् ।
‘कांग्रेसको संगठनलाई मजबुत बनाउन हामीले केन्द्रीय कार्यसमितिबाट एक वर्षे कार्ययोजना नै पारित गरेका छौं । त्यहीअनुसार यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘यो अभियानमा कांग्रेसको सांगठनिक जीवन कसरी चलिरहेको छ ? भनेर जानकारी लिने र कमजोरीहरु औंल्याउने काम हुन्छ । यसकारण पनि यो हाम्रो पोलिटिकल अडिट हो ।’
संगठन सुदृढीकरणका लागि आन्तरिक रुपमा यो दश दिने अभियानपछि भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
Discussion about this post