काठमाडौं । नेदरल्यान्ड्स जारी फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मूर पार्कस्थित एलियान्ज स्टेडियममा आज बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै न्युजिल्यान्ड्स प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेकको हो । नेदरल्यान्ड्सको जितमा जिल रुर्ड र लिनेथ बिरेन्स्टेनले समान १-१ गोल गरिन् ।
नवौँ मिनेटमा शेरिडा स्पिटसेले प्रहार गरेको कर्नर किकलाई रुर्डले हेडिङ गर्दै गोलमा परिणत गर्दा डच टोलीले सुरुवाती अग्रता लियो । यो रुडको जारी विश्व कपको चौथो गोल हो।
२९ औँ मिनेटमा डेनियल भ्यान डे डोन्कले गरेको सशक्त प्रहार दक्षिण अफ्रिकी गोल किपर केलिन स्वाटले उत्कृष्ट बचाउ गरिन् । पहिलो हाफको थप समयमा थेम्बी कगत्लानाको प्रहारलाई स्वाटले विफल पारिदिइन् । ५४ औँ मिनेटमा लाइके मार्टेन्सको प्रहारले जाली चुमेपनि भीएआरमा मार्टेन्स अफसाइड देखिएपछि यसले गोलको मान्यता पाउन सकेन ।
खेलको ६८ औँ मिनेटमा बिरेन्स्टेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाइन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा डच टोली सहज जितसहित अन्तिम आठमा प्रवेश गर्यो ।
हारसँगै पहिलो पटक अन्तिम १६ सम्म पुगेको दक्षिण अफ्रिकाको जारी विश्वकप यात्रा समाप्त भएको छ । अब साविकको उपविजेता नेदरल्यान्ड्सले सेमिफाइनलमा स्थान बनाउन शुक्रबार स्पेनको सामना गर्नेछ । यस्तै आजै पौने ३ बजे नकआउट चरणको अर्को खेलमा स्वीडेन र अमेरिका प्रतिस्पर्धा गर्नेछन् ।
Discussion about this post