विराटनगर । संखुवासभा जिल्ला कारागारमा दुईजना कैदीको शंकास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समिति बनाएको छ ।
प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले छानबिन गर्न समिति बनाएर परिचालन गरेका हुन् । प्रदेश प्रहरी कार्यालयका एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय समिति बनाइएको छ ।
समितिमा इन्सपेक्टर (प्रहरी निरीक्षक) जितेश दाहाल, सइ (प्रहरी नायव निरीक्षक) रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् । छानबिन टोली बिहीबार संखुवासभा पुगेको छ ।
उक्त समितिले छानबिन गरी १० दिनभित्र प्रतिवेदन बुझाउने जनाइएको छ । यसअघि जिल्ला सुरक्षा समिति संखुवासभाले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।
समितिका इन्सपेक्टर सरोज खनाल र प्रशासन कार्यालयका शुब्बा तारणी घिमिरे सदस्य छन् । समितिले आफ्नो काम सुरु गरिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
कारागारबाट भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र त्यही कारण उनीहरुको मृत्यु भएको आरोप लागेको छ । कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको संखुवासभा प्रहरीले बताउँदै आएको छ ।
स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा घटनालाई तोडमोड गरी कारागारभित्र झडप हुँदा कैदीको मृत्यु भएको भन्दै सार्वजनिक गरिएको भनेर चौतर्फी विरोध भइरहेको छ ।
Discussion about this post