बैँकले चर्को ब्याजदर वृद्वि गरेको भन्दै प्रदेश १ का उद्योगी एवम् व्यवसायीहरू आन्दोलित बनेका छन् । सुनसरी, मोरङसहितका उद्योगी व्यवसायीहरूले बैँकको नीतिविरुद्व बिहीबारबाट आन्दोलनको सुरुआत गरेका हुन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं। १ को संयुक्त आयोजनामा तीन दर्जन बढी वस्तुगत विभिन्न संघसंस्थाले विराटनगरस्थित राष्ट्र बैँकको कार्यालयमा बिहीबार धर्ना दिएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार सबै व्यापार, व्यवसाय बन्द गर्दै कालोपट्टी बाँधेर राष्ट्र बैँकको कार्यालयमा धर्ना दिइएको हो । प्रतिकुल बैंकिङ्ग नीतिका कारण व्यापार व्यावसाय मर्कामा परेको उनको भनाइ छ ।
आँफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । उनका अनुसार अहिले ब्याजदर १६ प्रतिशत पुगिसकेकाले समस्या निम्तिरहेको छ । चालू पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने उनले बताए ।
आँफूहरूको आन्दोलन शुक्रबार पनि जारी रहने व्यवसायीहरूले बताएका छन् ।चालू पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ । चालू पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको व्यापारीहरूले बताएका छन् ।
‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’
बिहीबारदेखि सुरू भएको आन्दोलन देशव्यापी बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।
Discussion about this post