काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेता सुनील शर्मा पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।
प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै भाषण गरेका थिए ।
सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए ।
सोही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए ।
शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको छ। उनले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए ।
‘उहाँले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको देखियो’, कडायतले संक्षिप्त प्रतिक्रिया दिँदै भने । सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए । शर्मालाई पक्राउ पछि अहिले सीआईबीमा ल्याइँदैछ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
Discussion about this post