काठमाडौं । सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।
शर्माको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएको हो ।
शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए ।
सुन तस्करीमा जोसुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए ।
सांसद शर्माले सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।
संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको अनुमति नदिई विना पक्राउ पुर्जी पक्राउ गरिएको भन्दै उनको सचिवालयले घटनाको भर्त्सना गरेको छ ।
Discussion about this post