काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माईतीघरबाट शुरु भएको युवा पदयात्रामा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताए । उनले युवाहरुलाई कसरी बढी भन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरु दिनका लागि युवाहरुलाई आह्वान गरे ।
उनले युवाहरुलाई देशको नेतृत्व गर्नका लागि तयार हुनपनि आह्वान गरे । ‘राष्ट्रिय युवा परिषद्को माध्यमबाट युवा नीति परिमार्जन गर्नेकुरामा अघि बढेका छौँ । युवाहरुलाई कसरी स्थान दिने भन्नेमा मन्त्रालय अघि बढेको छ’ मन्त्री लिम्बुले भने, ‘युवाहरुले आगामी दिनमा अब यो देश हाँक्ने, यो देशको नेतृत्व गर्ने कुरा अब युवाहरुको काँधमा छ । त्यसैले समयानुकुल आफूलाई परिवर्तन गर्दे देश हाँक्न अब तयार हुनुस् ।’
Discussion about this post