काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् ।
पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले दिउँसोदेखि पानी पर्ने क्रम झन् बढ्ने बताएका छन् । आगामी सोमबारसम्मै देशभर पूर्ण बदली हुने र पानी पर्ने पूर्वानुमान गरिएको उनको भनाइ छ ।
बागमती प्रदेशको नुवाकोटस्थित ककनी जलमापन केन्द्रमा भने ६ घण्टाको अवधिमा भारी वर्षा रेकर्ड भएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । गत २४ घण्टाको अवधिमा भने कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन भएको छ ।
Discussion about this post