झापा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरु मिलेर प्रदेश चलाउनुको बिकल्प नरहेको बताएका छन् ।
झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औं क्याम्पस सभाको उद्घाटन गर्दै थापाले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए ।
‘स्थायित्व र विकासका लागि दलहरुलाई म यहीँबाट आह्वान गर्न चाहन्छु मुख्यमन्त्री थापाले भने, ‘अब कोशी प्रदेशमा दलहरु मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरुले बुझेका छन्, हामीबीच भएको गठबन्धन झिनो बहुमतको छ, यसले सरकारलाई स्थायित्व दिन सक्दैन । तसर्थ सबै दल मिल्न जरुरी छ ।’
सरकार अब सबै दलहरुबीच सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने मुख्यमन्त्री थापाको भनाई छ ।
कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रसाद चुडालको अध्यक्षतामा भएको सभामा कोशी प्रदेश सभा सदस्य लखीकुमारी गणेश, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, नेकपा एमाले कनकाई नगर अध्यक्ष खड्ग प्रसाई, कनकाई नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष युवराज चम्लागाई, प्राध्यापक संघ अध्यक्ष तुलसी कार्की, कर्मचारी संघ अध्यक्ष हरिप्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
क्याम्पस सञ्चालन समितिका खगेश्वर उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शेरवहादुर बानियाँले गरेका थिए ।
Discussion about this post