काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् ।
देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
उनले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको उल्लेख गरे ।
आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे ।
‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ?’ उनले प्रश्न गरे ।
चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास रहेको छ । गत वर्ष विविध कारणले लक्ष्य पूरा नभएपनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने मन्त्री महतको भनाइ छ ।
Discussion about this post