इलाम । विद्यालय शिक्षा ऐनको मस्यौदामा शिक्षकहरुका हक हित विपरीतका प्रावधानहरु राखिएको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ ।
महासंघले आज इलामसहित देशभरका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरुमा धर्ना दिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय इलाममा समेत जिल्लाभरका शिक्षकहरु भेला भएर धर्ना दिएका हुन् । संविधान प्रदत्त ट्रेड युनियन अधिकार कटौती गरिएको र शिक्षक, कर्मचारीहरुको पेशागत रक्षा एवम् स्वाभिमानको खिलाफमा मस्यौदा रहेको भन्दै आन्दोलन गरिएको नेपाल शिक्षक संघ इलामका अध्यक्ष रोमनाथ शर्माले बताए ।
उनले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ विच भएको पटक पटकको सहमतिविपरीत शिक्षा ऐनको मस्यौदा तयार भएको बताए ।
स्थायी शिक्षक अस्थायी शिक्षक, कोटामा कार्यरत शिक्षक र साविक उच्च मावि कोटामाकार्यरत शिक्षक, विशेष शिक्षा, अनुदान कोटामा कार्यरत शिक्षक, प्राविधिक धारमा कार्यरत शिक्षकहरु संस्थागत विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीका मागहरु शिक्षा ऐनकोमस्यौदाले सम्बोधन नगरेको शिक्षकहरुको भनाई छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष लोकबहादुर थाम्सुहाङले २०७५ सालपछि नियुक्ति भएका शिक्षकहरुको सेवा र सुविधा कटौती गर्नेगरी ऐन ल्याउन लागिएको आरोप लगाए ।
Discussion about this post