काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ (२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’
अर्थमन्त्री डा. महतले भने, ‘एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ । कसैको बोल्ने क्षमता होला, कसैको संगठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला, कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं ।’
कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता डा. महतले भने, ‘यो फरक हामीले जनतालाई बुझाउनुपर्छ । अब हामीले सूचना प्रविधिको पनि उपयोग गर्नुपर्छ । गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्छ । यदि यो काम गरेनौं भने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ पुष्टि हुन्छ ।’
Discussion about this post