इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुको भारी आफ्नो पार्टीले बोकेर नहिड्ने बताएका छन् ।
ललिता निवास प्रकरणमा संलग्न भनिएका पुर्व प्रधानमन्त्रीहरुको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताएका हुन् ।
उनले भने ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।’ नेपाललाई भष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नु पर्ने उनको भनाई छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने उनको भनाई छ ।
महामन्त्री थापाले भ्रष्टाचारमा जोडिएका जो कोहीलाई छोड्न र उन्मुक्ति दिन नहुने बताए ।
महामन्त्री थापाले जोसुकै ब्यक्तिसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने उल्लेख गरे ।
अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णय समेत पारदर्शी बनाउनुपर्ने महामन्त्री थापाले बताए ।
नेपाली काँग्रेस इलाम नगर कार्य समितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा महामंत्री थापाले जनता र युवा पुस्तामा रहेको नैराश्यता अन्त्य गर्न नेपाली काँग्रेसले पहल गर्नुपर्ने बताए ।
इमान्दार भएर काम गरेमा यो सम्भव हुने उनको भनाई छ । नेपाली काँग्रेस इलाम नगर सभापति तीर्थ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला नेताहरु भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, हिमालय कर्माचार्य, हरिकला श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post