काठमाडौं । फिफा महिला विश्वकपको उपाधिका लागि आज युरोपियन राष्ट्र इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम पहिलो पटक विश्वकपको फाइनल पुगेका हुन् । सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा नेपाली समयअनुसार अपराह्न पौने चार बजे खेल सुरु हुनेछ ।
इंग्ल्यान्ड सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियालाई ३ – १ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । स्पेनले उपाधि दावेदार मानिएको स्विडेनमाथि २ – १ गोलको जित हात पारेको थियो । आज जसले जिते पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । अहिलेसम्म अमेरिकाले चार, जर्मनी दुई र जापान तथा नर्वेले एक-एक पटक विश्वकप जितेका छन् ।
इंग्ल्यान्ड १३ महिनाको अन्तरमा दोस्रो ठूलो उपाधि जित्ने लक्ष्यमा छ । सरिना भिगमनको टोली गत वर्ष घरेलु मैदानमा युरोपियन च्याम्पियन बनेको थियो । कप्तान मिली ब्राइटले यदि विश्वकप जित्ने हो भने जीवनकै उत्कृष्ट खेल खेल्नुपर्ने प्रतिक्रिया दिएकी छन् । उनको टिम ५७ वर्ष देखिको विश्वकप उपाधि खडेरी तोड्न चाहन्छ । सन् १९६६ मा पुरुष टिमले विश्वकप जितेयता इङ्लिस सिनियर टिमले पहिलो पटक विश्वकप फाइनल खेल्न लागेको हो ।
समू्ह चरणमा तीन गोल र तीन एसिस्ट गरेकी लअरेनस जेम्सको पुनरागमनले इंग्ल्यान्ड उत्साहित छ । अन्तिम १६ मा नाइजेरियाविरुद्ध रातो कार्ड पाएपछि युवा खेलाडी जेम्समाथि दुई खेलको प्रतिबन्ध लागेको थियो । भिगमन दुई फरक देशलाई विश्वकप फाइनल पुर्याउने पहिलो प्रशिक्षक हुन् । चार वर्ष अघि उनको देश नेदरल्यान्ड्स अमेरिकासँग पराजित हुँदै उपविजेता बनेको थियो ।
सन् २०१५ मा डेब्यु गरेको स्पेन तेस्रो सहभागितामा फाइनल पुग्न सफल भएको हो । प्रशिक्षक होर्गे भिल्डालाई पनि इतिहास रच्ने सुनौलो अवसर छ। विश्वकप अघि १५ राष्ट्रिय टिमका खेलाडीले भिल्डालाई हटाउन माग गर्दै विद्रोह गरेका थिए । त्यसका बाबजुद फुटबल संघको साथका कारण जिम्मेवारीमै रहेका भिल्डाको टिम र इंग्ल्यान्ड विश्वकपमा पहिलो पटक आमनेसामने हुँदैछन् । पछिल्लो पटक सन् २०२२ को युरो क्वाटरफाइनलमा भेट हुँदा इंग्ल्यान्ड २-१ ले विजयी भएको थियो ।
Discussion about this post