विराटनगर । आज कोशी प्रदेशसभा बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । तर प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् ।
५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ ।
सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ ।
त्यस नियमअनुसार कोशी प्रदेश सभामा नेपाली काँग्रेसका तर्फबाट इस्राइल मन्सुरी, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन् ।
अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट र एमालेका मालतीकुमारी सुब्बा घरायसी काम परेको भन्दै आइतबारैदेखि बिदामा बसेका छन् ।
अध्यक्ष मण्डलमा रहेका इस्राइल मन्सुरी गीताभन्दा ज्येष्ठ सदस्य हुन् । उनी नेपाली काँग्रेसका र्फबाट सुनसरी ४ (२) मा निर्वाचित भएका हुन् । उपसभामुख बिदामा बसेपछि अब प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्ने छ ।
उपसभामुख दनुवारले आफ्नो अनुपस्थितिमा सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी छन् । उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्किउन्जेलसम्मका लागि सभा सञ्चालनको जिम्मा दिएकी हुन् ।
कोशी प्रदेश सभामा रहेका एमालेका ७ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले हिजो आइतबारै बिदा लिइसकेका छन् । प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
थापाले यस बारेको सूचना शुक्रबार रदेशसभामा दर्ता गराइसकेका थिए । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी थिइन् ।
थापा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिनका लागि सत्ता गठबन्धनबाहेक राप्रपा र एमालेले सभा सञ्चालन गर्नु पर्ने हुन्छ । सत्ता गठबन्धनसँग कोशी प्रदेश सभामा ४७ मत मात्रै छ ।
सभा सञ्चालन गर्ने प्रदेश सभाले बराबर नभएको अवस्थामा विश्वासको मत दिन नपाउने भएका कारण थापालाई विश्वासको मत राप्रपा र एमालेका कारण संकट उत्पन्न भएको छ ।
एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले विश्वासको मत दिन नसक्ने बताए । प्रदेश सभा सदस्यहरू बिरामी परेर या अन्य काम परेर अनुपस्थित हुन सक्ने बताए ।
नेपाली काँग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भने विश्वासको मत लिने दिन ज्येष्ठ सदस्य बिदामा बस्नु उपसभामुखले बिदा लिएर सभा नचलाउनु राम्रो संकेत नभएको बताए । कोशी प्रदेश सभामा बहुमत पुग्न ४७ सिट आवश्यक पर्छ ।
Discussion about this post