इलाम । इलाम नगरपालिका वडा नम्बर ७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ ।
इलाम नगरपालिका ७ नम्बर वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाहरुको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देदेश्यले कोष स्थापना गरेको हो । कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम सहज पुग्ने बताइएको छ ।
सीपमूलक कार्यमा सहभागी हुँदै उनीहरुका क्रियाकलापमा सहजता प्रदान गर्न सो काम गरेको वडाध्यक्ष नरेश श्रेष्ठले बताए ।
उनले पहिला एकल महिलालाई संगठित बनाएको र उनीहरुको क्रियाकलापमा सहज होस भनेर सो काम गरेको बताए ।
कोषमा एकल महिलाहरुका तर्फबाट समेत मासिक रुपमा दुई सय जम्मा गरिने छ । वडाध्यक्ष श्रेष्ठले समेत मासिक पाँच सय रकम जम्मा गर्ने बताइएको छ ।
महिलाहरु सक्षम भएपनि एकल भएपछि घरमा नै रहने तथा सामाजिक कार्यमा जुट्न अफ्ठ्यारो मान्ने भएकाले पनि उनीहरुलाई संगठित गरेर सामाजिक कार्यमा लाग्न प्रेरणा जगाउने उद्देश्यले सो काम थालेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
वडामा हालसम्मको तथ्याङ्क अनुसार ५४ जना एकल महिला छन् । वडाभित्र रहेका अपाङ्गता भएका ब्यक्ति तथा जेष्ठ नागरिकहरुको स्वास्थय बीमा समेत गरिदिएको छ ।
वडाले चाँडै नै जेष्ठ नागरिक तथा एकल महिलाहरुको लागि तिर्थयात्रा भ्रमण गराउने समेत जनाइएको छ । वडाध्यक्ष श्रेष्ठकै पहलमा उक्त वडामा रहेका चारजना महिला स्वास्थ्य स्वंसेविकाको जीवन बीमा समेत गरिएको छ । यो कार्य इलाम नगरपालिकाको १२ वटा वडामध्ये वडा नम्बर ७ ले सबैभन्दा पहिला सुरु गरेको हो ।
महिला स्वास्थ्य स्वंसेविकाको जीवन बीमा वडाको बजेटबाट नभइ वडाध्यक्ष श्रेष्ठले ब्यक्तिगत रुपमा १५, १५ हजार र स्वयं महिला स्वास्थ्य स्वंसेविकाले १०, १० हजार तिरेर जीवन बीमा गराइएको हो । जसअनुरुप वार्षिक प्रतिव्यक्ति २५, २५ हजार तिर्नुपर्छ । जसमध्ये वार्षिक १५, १५ हजार रुपैयाँ व्यक्तिगत रुपमा वडाध्यक्ष श्रेष्ठले तिरिदिने र बाँकी १०, १० हजार रुपैंयाँ सम्बन्धित ब्यक्तिले तिर्नुपर्नेछ ।
Discussion about this post