विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी भएकाले उपचारका लागि अस्पताल भर्ना भएको जनाएको छ ।
प्रदेशसभाको सोमबारको बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कानुनसम्मत रुपमा मार्ग प्रशस्त गरेर उपसभामुख उपचारमा गएको बताए ।
‘उनले स्वास्थ्यमा समस्या आएपछि उपसभामुख काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएको जानकारी दिए ।
उनले अवस्था त्यस्तो भए पनि व्यक्तिगत स्वास्थ्य र जीवनलाई सामान्य मान्ने प्रयास गर्दै एमालेले बिरामी बनाएको भनेर मनगणन्ते आरोप लगाइएको बताए ।
बिरामी परेको भनेर लिखित जानकारी गराउँदै सभा सञ्चालनको जिम्मेवारी तोकेर हिँडेको अवस्थामा उपसभामुखमाथि अनेक लाञ्छना लगाउने प्रयास गरिएको उनले बताए ।
‘उपसभामुख बिरामी परेर सभामा उपस्थित हुन नसक्दा चैं असंसदीय हुने । सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बनेर मुलुकको मूल्य, मान्यता र संविधानको ठाडै उल्लंघन गर्दा चैं ठीक ?’ भण्डारीले भने ।
उनले सभाको अध्यक्षता गरिरहेका प्रदेशसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान दिन लगाउने प्रयास भइरहेको भन्दै प्रदेशसभाको ध्यानाकर्षण गराए ।
‘विश्वासको मत पाएमा मुख्यमन्त्री थापालाई आफूहरु पनि ताली पड्काएर स्वागत गर्ने, तर विश्वासको मत भने दिन नसक्ने भण्डारीले स्पष्ट पारे ।
गठबन्धनका नाममा संविधान र कानुनको हुर्मत लिने काम भएको भन्दै भण्डारीले अब पनि हुर्मत लिने काम भयो भने प्रदेशिक संरचनामाथिको आलोचना बढेर जाने बताए ।
Discussion about this post