काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बस्दैछ । आज मंगलबारको संसद् बैठक अगाडि उनले दलका नेताहरूलाई शीतल निवास बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे बैठक बोलाएका हुन् ।
बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने पोखरेलले जानकारी दिए । त्रिभुवन विमानस्थलबाट भित्रिएको सुनको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपतिले चासो देखाएका हुन् ।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग छलफल गरेका थिए ।
सोमबार राति सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमति जुटिसकेकाले यसबारे राष्ट्रपतिलाई जानकारी गराइने नेताहरुले जनाएका छन् । उच्चस्तरीय छानबिन समिति गठनमा सहमति जुटेकाले आजदेखि एमालेको अवरोध हट्ने भएको छ ।
दलहरुबीच सैद्धान्तिक सहमति जुटेसँगै आवश्यक मस्यौदा तयार पार्न तीन सदस्यीय समितिसमेत गठन भएको छ । यो समझदारीबाट दलहरु पछि नहटेमा आज औपचारिक लिखित सहमति हुने र संसद् खोल्ने तयारी छ ।
Discussion about this post