मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विवादित बनेको कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतको विषयमा सर्वोच्च अदालतको आदेश मान्य हुने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले राज्यसत्ता कमजोर हुँदा अदालत सक्रिय हुने र त्यसको निर्णयलाई मान्य गर्नुपर्नेमा बताएका हुन्।
उनले भने, ‘सभामा अध्यक्ष नै सभामुख हुन्छ। त्यो गलत नै होला भन्ने लाग्छ। यसबारे अदालतले जे निर्णय गर्छ त्यो मान्य हुनेछ।’ उनले थपे, ‘सत्ताको राजनीति र पार्टीको राजनीति फरक हुन्छ। राज्यसत्ता कमजोर हुँदा यस्ता कुराहरु घटनाहरु हुँदै जान्छन्। हामी गलत काम गर्छौँ र त्यसलाई अदालतले गलतलाई पुष्टि गर्दै जान्छ।’
कोशीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएका थिए। सभाध्यक्षले समेत मतदान गर्नु गैरकानूनी भन्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको सन्दर्भमा नेता कोइरालाले अदालतको निर्णय मान्य हुने बताएका हुन्।
अघिल्लो पटक सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापाको नियुक्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। त्यसपछि सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा मुख्यमन्त्रीमा पुनः नियुक्त भएका थिए।
Discussion about this post