प्रदेश १ प्रदेश सभाका पहिलो बैठक गयानन्द मण्डलको अध्यक्षतामा हुने भएको छ । मण्डल मोरङ क्षेत्र ५ (१) बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका हुन् । मण्डलले जेष्ठ सदस्यको हैसियतले प्रदेश सभाको बैठकको अध्यक्षता गर्न लागेको प्रदेश १ संसद सचिवालयले जानकारी दिएको छ ।
मण्डल ७९ वर्षका रहेको समेत प्रदेश १ संसद सचिवालयले पुष्टि गरेको छ । प्रदेश १ को प्रदेश सभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डल गन्गाईलाई सोमबार सपथ ग्रहण गराइने छ ।
निर्वाचित प्रदेश सभा सदस्य गन्गाईलाई प्रदेश सभा सचिव गोपाल पराजुलीले सपथ ग्रहणका लागि उपस्थित हुन मंगलबार नै पत्राचार गरेका छन् । उनलाई राष्ट्रिय पोशाक वा आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन पत्रमा उल्लेख छ ।
प्रदेश सभा सदस्य गन्गाईले सपथ लिएपछि सोमबार नै बाँकी ९२ जना प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिव पराजुलीले जानकारी दिएका छन् ।
निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार सोमबार दिनको साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा मण्डलको सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
Discussion about this post