विराटनगर । मोरङको उर्लाबारीस्थित वनभित्र बुधबार साँझ एक जना पुरुषको शव भेटिएको छ ।
उर्लाबारी नगरपालिका–३ को सालबारी सामुदायिक वनमा शव फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मृतक उर्लाबारी–७ का ६० वर्षीय गंगाबहादुर पौडेल हुन् ।
उनी २ दिनदेखि बेपत्ता थिए । परिवारका सदस्यलाई कुनै जानकारी नगराइकन सोमबार साँझ ५ बजेतिर उनी सम्पर्कविहीन भएको पाइएको प्रहरीले जनाएको छ ।
बेपत्ता रहेका पौडेलको शव जंगलभित्र भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सुरुमा पहिचान नखुलेको र बुझ्दै गएपछि शव पौडेलको रहेको पत्ता लागेको डीएसपी दाहाल बताउँछन् ।
उनका अनुसार घाँस दाउरा गर्न गएकाहरुले जंगलभित्र शव फेला पारेपछि बुधबार साँझ ५ बजेतिर प्रहरीलाई जानकारी गराएका हुन् ।
डीएसपी दाहालका अनुसार शव फेला परेको स्थाननजिकै विषादीको जस्तो देखिने बट्टा पनि भेटिएको छ । तर, पौडेलको मृत्यु विषादी सेवनबाटै भएको हो कि हैन भन्ने पुष्टि हुन बाँकी रहेको उनले बताए ।
घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लागिएको छ ।
घटना शंकास्पद नदेखिए पनि मृत्युको कारण यकिन भइनसकेको दाहालको भनाइ छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि अनुसन्धानबाट घटनाका बारेमा पत्ता लाग्ने उनले बताए ।
उनका अनुसार पहिल्यैदेखि ‘डिप्रेशन’को समस्या रहेका पौडेलले नियमित औषधि सेवन गरिरहेको जानकारी परिवारका सदस्यले दिएका छन् ।
Discussion about this post