विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो ।
निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताए । उनँले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको बताए ।
महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । त्यसका लागि एउटा खोप केन्द्रमा दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयम्सेवक परिचालन गरिनेछ ।
कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिइन् । खोपका विषयमा हरेक व्यक्तिले टोल–टोलमा पुगेर प्रचारप्रसार र सचेतना फैल्याउनुपर्नेमा कार्कीले जोड दिइन् ।
६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले बताए ।
Discussion about this post