प्रतिनिधि तथा प्रदेश शभाको निर्वाचन नतिजा पछि प्रतिनिधि शभाका दलहरुले संसदीय दलको नेताको पनि टुंगो लगाइसकेका छन् । सबैजसो दलहरुले सहमति मै संसदीय दलको नेता चुने पनि नेपाली कांग्रेसले भने सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत नै दलको नेताको टुंगो लगायो । प्रदेश शभामा पनि संसदीय दलको नेताका लागि रस्साकस्सी चलिरहेको छ ।
यसै बिच नेकपा एमालेले प्रदेश १ मा आइतबार दलको नेता छान्ने तयारी गरेको छ । दलको नेता छान्नका लागि दिउँसो १ बजे नवनिर्वाचित सांसदहरूको बैठक बोलाइएको प्रदेशसभा सदस्य रेवती रमण भण्डारीले जानकारी दिएका छन् ।
प्रदेश सभा सचिवालयले सोमबारका नव निर्वाचित प्रदेश सभाका सदस्यहरूलाई शपथ खुवाउने कार्यसूची तय गरेको छ । शपथ अगाडि नै एमालेले संसदीय दलको नेता छान्नका लागि बैठक बोलाएको हो ।
प्रदेश १ संसद्को सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ जना र समानुपातिकतर्फ १५ जना सांसद जितेको थियो ।
एमाले संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई छान्ने सम्भावना रहेको छ । अहिले सम्म एमालेमा दलको नेताका रूपमा हिक्मत बाहेक अरू नेताहरूले औपचारिक घोषणा गरेका छैनन् । हिक्मत कार्कीले भने निर्वाचनकै बेला मुख्यमन्त्रीको रूपमा भोट मागेका थिए ।
ओली निकट मानिएका कार्की प्रदेश १ सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत हुन् ।
Discussion about this post