काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग मित्रराष्ट्र भारतको नेसनल डिफेन्स कलेजका एयर भाइस मार्सल मनिषकुमार गुप्ताले शिष्टाचार भेट गरेका छन् ।
गुप्ताका साथमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरुले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका हुन् ।
भेटका अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीखड्काले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधारहरुको रुपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उनले बताए ।
रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरुमा यस सम्बन्धी संस्थाहरुको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षा सम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको मन्त्री खड्काले बताए ।
प्रतिनिधिमण्डलको नेतृत्व गर्नु गरेका गुप्ताले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकोमा धन्यवाद दिए ।
नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनले उल्लेख गरे ।
त्यस अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दुतावासका अधिकारी एवम् नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति थियो ।
Discussion about this post