इलाम । इलाम जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । ज्वरो आउने, रुखा खोकी, जिउ दुख्ने, आँखा पाक्ने जस्ता समस्या लिएर बढी बिरामी आउने गरेका छन् ।
इलाममा डेंगी रोगका संक्रमित बिरामीहरु समेत आउन थालेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रभु शाहले पछिल्लो समय आँखा पाक्ने, डेंगु संक्रमण भएका विरामी र स्कफ टाइफसका लक्षण भएका विरामी आइरहेको जानकारी दिए । उनका अनुसार बिशेष गरेर ज्वरो आएका बिरामी बढी आउने गरेका छन् ।
स्वास्थ्य कार्यालय इलामका अनुसार जिल्लामा हालसम्म १ सय ९५ जनामा डेंगु संक्रमण देखा परेको छ । सूर्योदय नगरपालिकामा डेंगुका सबैभन्दा बढी संक्रमित देखा परेको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए । उनका अनुसार फाकफोकथुम, माङ्सेबुङ र सन्दकपुर गाउँपालिकामा डेंगु रोगीहालसम्म फेला परेका छैनन् ।
अस्पतालमा इमरजेन्सी र ओपिडिमा विरामीको चाप ह्वात्तै बढेको छ । दैनिक दुई सयको हाराहारीमा बिरामी आउने गरेकोमा हाल चार सय बढि विरामी इलाम अस्पतालमा जाँच गराउन आउने गरेको बताइएको छ ।
Discussion about this post