काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीवार काठमाडौमा भएको एक कार्यक्रममा अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।
नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको अध्ययनका लागि विदेश जान नहुने बताए ।
उनले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्दा राम्रो अवसर समेत पाउन नसकेको उल्लेख गरे ।
‘अहिले जति पनि विद्यार्थी बाहिर देशमा पढ्न गएका छन्, उनीहरू राम्रो कलेजमा गएका छैनन् । उनीहरू एउटा भिसा सर्कलमा गएका छन्, न कलेज पूरा गर्न सक्छन्, न ठूलो अवसर पाएका छन् । नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग उत्कृष्ट क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता छ । तर कक्षा १२ देखि नै ४० हजार विद्यार्थी बाहिर गएका छन् । अहिले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ’ उनले भने ।
Discussion about this post