विराटनगर । मोरङमा १३ वर्षीया किशोरीले बच्चालाई जन्म दिएकी छन् । एक किशोरसँगको शारीरिक सम्पर्कबाट ८ महिनाअघि गर्भवती बनेकी उनले छोरालाई जन्म दिएकी हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले विराटनगरकै एक सुविधासम्पन्न अस्पतालमा सामान्य प्रसूति मार्फत बालिकाले शिशु जन्माएको जानकारी दिए ।
पेट दुखेको बताएपछि अभिभावकले जाँचका लागि भदौ १२ गते अस्पताल भर्ना गरेका थिए । परीक्षणका क्रममा गर्भ रहेको पत्ता लागेको थियो ।
उनले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएकी हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय किशोरसँग उनको शारीरिक सम्पर्क भएको खुलेको छ । उनलाई नियन्त्रणमा लिएर बाल निगरानी कक्षमा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अभिभावकले किटानी जाहेरी दिएपछि उनीविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँ अन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले दिए ।
१८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भएपनि कानुनले त्यसलाई बलात्कार मानेको छ ।
पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको छ । आमा तथा बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।
Discussion about this post